सामुदायिक विद्यालयमा महानगर उपप्रमुख, कठ्यांग्रिदो जाडोमा सर्टकै भरमा विद्यार्थी

सामुदायिक विद्यालयमा महानगर उपप्रमुख, कठ्यांग्रिदो जाडोमा सर्टकै भरमा विद्यार्थी

पुसको ठण्डीलाई छिप्पिदैं गएको घामले मत्थर बनाउँदै थियो । भैंसेपाटीस्थित जनउदय माध्यमिक विद्यालयका शिक्षकहरू पढाउन तल्लिन देखिन्थे भने विद्यार्थीहरू ध्यान दिएर सुनिराखेका थिए ।ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल सोमबार उक्त विद्यालय पुग्दा कोही विद्यार्थी छक्क परेका देखिन्थे, कोहीले उनलाई वर्षौंदेखि चिनेको व्यवहार गरे । विद्यालय अनुगमनका क्रममा त्यहाँ पुगेकी सत्याल चार कक्षाभित्र पसिन् । पातलो सर्टमात्रै लगाएका विद्यार्थी रितल लामा नजिक पुगेर सोधिन्, ‘बाबु स्विटर खै ? ’ ती विद्यार्थीको जवाफ सुनेर उनले आफूलाई थाम्न सकिनन् र कक्षा कोठाबाहिर निस्किइन् । ती विद्यार्थीले आर्थिक अभावका कारण न्यानो लुगा स्विटर किन्न नसकेको बताए ।

उनका बा मजदुरी गर्छन् । उनले भने, ‘ममी बिरामी भएर उपचार गर्दागर्दै पैसा सकियो, स्विटर किन्न पैसा छैन ।’ उनकी आमा मुटुको रोगी रहिछन् । उक्त रोगको उपचार गर्दा जोहो गरेको सबै पैसा सकिएको रहेछ । बाबुको कमाइले बिहान बेलुकाको छाक टार्न नै धौ धौ भएका कारण उनी कठ्यांग्रिदो जाडोमा पनि एउटा सर्टको भरमा विद्यालय आएका रहेछन् ।

कक्षा ९ की छात्रा निमा दुलालले विद्यालयमा ११ र १२ को कक्षा सञ्चालन सुरु गर्न माग गरिन् । उनले उपप्रमुख गीतासँग भनिन्, ‘यहीँ पढ्न पाए दशपछिको कक्षाका लागि अरु स्कुल जानु पर्दैन थियो ।’ निमाका साथी आर्यन अधिकारीले पनि निमाको मागमा सहमति जनाए । उनले भने, ‘यहीँ प्लस टु पढ्न पाए पढाइ अघि बढ्थ्यो, नत्र त… ।’

महानगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीसँग भेटघाट गर्न र विद्यालयको अवस्था बुझ्न उपप्रमुख गीता उक्त विद्यालय पुगेकी थिइन् । विद्यालयमा उनलाई विद्यार्थीले विद्यालयको राम्रा कुरा र सुधार गर्नुपर्ने पक्ष खुलेर बताए । विद्यार्थीको समस्या र अप्ठ्यारालाई गम्भीरतापूर्वक सुनेकी उनले महानगरका तर्फबाट विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले विद्यालयका प्रधानाध्यापकलाई भनिन्, ‘विद्यालय प्रशासनमा सुधार ल्याउन सके गुणस्तरीय शिक्षा दिन सकिन्छ, प्रशासन सुधार गर्नतर्फ ध्यान दिनुस् ।’

महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमन र विद्यार्थीसँगको भेटघाटलाई निरन्तरता दिने उनले बताइन् । उनले विद्यार्थीका समस्यालाई गम्भीर रूपमा लिएर समाधान गर्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिइन् । विद्यार्थीले उपप्रमुखसँग शौचालयको अपर्याप्तता, खेल मैदानको अभाव, खेलकुद सामग्रीको अभावका बारेमा बताएका थिए ।

विद्यार्थीले विद्यालयमा कम्प्युटर ल्याब भए पनि त्यसको प्रयोग नभएको गुनासो गरे । ल्याबमा गएर कम्प्युटरको प्रयोगात्मक कक्षा पढ्न नपाउँदा यो विषय राम्रोसँग बुझ्न नसकेकोको उनीहरूको गुनासो थियो ।

आठ कक्षाका विशाल मगरले आफूलाई कम्प्युटरका बारेमा धेरै जान्ने इच्छा भए पनि ल्याब सञ्चालन हुन नसक्दा त्यो पूरा नभएको बताए । एसइईमा राम्रो अंक ल्याउन नौ कक्षादेखि नै गहिरो र निरन्तर अध्ययन हुनुपर्ने बताउँदै नौ कक्षाकी निमाले ऐच्छिक गणित र विज्ञानको थप कक्षा व्यवस्था गर्न अनुरोध गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवगोपाल थापाले विद्यालयमा प्लस टु सुरु गर्न प्रक्रिया अघि बढेको बताए । कक्षाकोठाको अभावमा ११, १२ को कक्षा सुरु गर्न नसकिएको बताए । उनले भने, ‘विद्यालयमा यी कक्षा अत्यावश्यक छन्, यी कक्षा जतिसक्दो छिटो सुरु गर्नुपर्छ ।’ विद्यालयका प्रधानाध्यापक मोदनाथ लम्सालले विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी विपन्न भएको बताए । अभिभावकको आर्थिक अवस्था न्यून हुँदा त्यसको असर उनीहरूको पढाइ लगायत वृद्धि विकासमा परेको बताए । प्लस टु सञ्चालन अत्यावश्यक भएको बताउँदै उनले त्यसका लागि सहयोगको अनुरोध गरे ।

ललितपुर महानगरपालिका शिक्षा समन्वयकर्ता लोकबहादुर खड्काले गुणस्तरीय शिक्षाका लागि विद्यालय र विद्यार्थी सँगसँगै अभिभावकको भूमिकासमेत महŒवपूर्ण भएको बताए । उनले भने, ‘अभिभावकलाई शिक्षाको महŒव बुझाउन जरुरी छ ।’ गरिबी झेलिरहेका उनीहरूलाई शिक्षाको महŒव बुझाउन कठिन भए पनि असम्भव नभएको उनले स्पष्ट पारे ।

उक्त विद्यालयमा जम्मा ४११ जना विद्यार्थी छन् । जसमध्ये २१८ जना छात्रा र १९३ छात्र छन् ।